विश्वको भन्सार प्रशासनलाई व्यवस्थित गर्ने एउटा स्वतन्त्र अन्तरसरकारी निकाय विश्व भन्सार सङ्गठन हो । यसको स्थापना सन् १९५३ जनवरी २६ मा विश्व भन्सार सहयोग परिषद्का रूपमा भएको हो । हाल यस सङ्गठनमा १८३ राष्ट्र सदस्य छन् । यस सङ्गठनको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । नेपाल यस सङ्गठनको सदस्य सन् १९८५ जुलाई २२ मा बनेको हो । यस सङ्गठनमा सङ्गठनका महासचिव कार्यकारी प्रमुख हुने व्यवस्था छ । यस सङ्गठनको प्रत्येक वर्ष वार्षिक परिषद्को बैठक बस्दछ । वार्षिक परिषद्ले नीति निर्धारण गर्दछ, जसमा सदस्य राष्ट्रका भन्सार प्रमुखहरूले प्रतिनिधित्व गर्दछन् । विश्व भन्सार सङ्गठनले कार्य गर्दा विश्व व्यापार सङ्गठनबाट प्रतिपादित सिद्धान्त र व्यवहारलाई अनुसरण गर्दछ ।
व्यापार सहजीकरणमा विश्व भन्सार सङ्गठनको भूमिका
देशहरूबीचको व्यापारमा कुनै अवरोध नआई सरल र नियमित रूपमा मालवस्तु आयात निर्यात हुने अवस्था व्यापार सहजीकरण हो । मालवस्तु आयात निर्यातको सहजीकरण कार्यमा अन्तर्राष्ट्रिय स्तरमा विश्व भन्सार सङ्गठन र विश्व व्यापार सङ्गठनले कार्य गर्दै आएका छन् । व्यापार सहजीकरणमा विश्व भन्सार सङ्गठनले निर्वाह गरेको भूमिकालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ:
- भन्सार व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने गरेको,
- भन्सारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको व्याख्या गर्ने र त्यस्ता सन्धिको कार्यान्वयनमा एकरूपता कायम गराएको,
- भन्सार मूल्याङ्कनबारेमा विश्व व्यापार सङ्गठनलाई राय परामर्श दिने गरेको,
- आफ्ना सदस्य राष्ट्रहरूलाई वैदेशिक व्यापार एवं भन्सार व्यवस्थापन सम्बन्धमा सूचना आदान–प्रदान, सहयोग एवं सल्लाह प्रदान गरेको,
- सदस्य राष्ट्रहरूका भन्सार कानुनको कार्यान्वयनमा प्रभावकारिता ल्याई भन्सार कानुन र भन्सार प्रशासनबीच सामाञ्जस्य र एकरूपता ल्याउन सहयोग गरेको,
- भन्सार कार्यविधि र प्रक्रियामा सरलीकरण गर्न मद्दत गरेको,
- सदस्य राष्ट्रहरूबीच देखिएका विवाद समाधान गर्दै आएको,
- भन्सार व्यवस्थापनमा संलग्न मानव साधनको विकासमा सहयोग गर्दै आएको,
- विश्वभर आयात निर्यात हुने मालवस्तुमा हार्मोनाइज्ड सिस्टम लागू गरी उपयुक्त नामकरण र वर्गीकरण गर्दै आएको,
- अन्तर्राष्ट्रिय अपराध रोक्न सदस्य राष्ट्रहरूबीच सहयोग बढाएको,
- भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्य अन्तर्राष्ट्रिय निकायसँग सहयोग बढाउँदै आएको,
- प्रत्येक वर्षको जनवरी २६ मा विभिन्न कार्यक्रम गरी विश्वभर विश्व भन्सार दिवस मनाउँदै आएको,
- सदस्य राष्ट्रका भन्सार प्रशासनमा आधुनिक सूचना प्रविधि आशिकुडा वल्र्ड प्रणालीको विकास र विस्तार गरी भन्सारलाई विद्युतीय शासनमा रूपान्तरण गर्न सहयोग गरेको ।
- यसरी विश्वको व्यापार सहजीकरणमा विश्व भन्सार सङ्गठनले आफ्नो सशक्त भूमिका निर्वाह गर्दै आएको छ ।

0 Comments